बालकलाई गाउँलेले झुण्ड्याएर यातना

About us

उदयपुर— जिल्लाको मध्यवर्ती गाविस रौताका एक बालकलाई गाउँलेले झुण्ड्याएर यातना दिएको समाचार प्राप्त भएको छ। रौता ४ नामन्ताका १० वर्षीय दिनेश मगरलाई छिमेकीको पसल चोरेको अभियोगमा शुक्रबार रातभर उल्टो झुण्ड्याएर सिस्नुपानी लगाउँदै यातना दिएको स्थानीयले बताएका छन्।
 
छिमेकी लालबहादुर मगरको पसलमा सामान चोरेको आरोपमा उनलाई अभिभावकले थाहा नपाउने गरी समातेर लुगा फुकालिदिएर नाङ्गै दलिनमा झुण्ड्याएर यातना दिएको पीडितका आफन्त गंगाबहादुर मगरले बताएका छन्। उनलाई पसल धनी लालबहादुर, स्थानीयहरु दानबहादु मगर, दिकु मगर, कमल मगर र जयप्रसाद यादवको समूहले निर्मम यातना दिएको मामा गंगाले बताए।
 
'चोरलाई यस्तै कडा सजाय दिनुपर्छ' भन्दै मादक पर्दाथ सेवन गरेका उनीहरुले बालकलाई यातना दिएको बताइएको छ। बालकलाई उल्टो झुण्ड्यार सिस्नुपानी लगाएकोदेखेरउनकी सानीआमाले केही घण्टापछि उद्धार गरेकी थिईन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको बताइएको छ।
 
पीडितका बाबु तारण मगरको यसअघि नै मृत्यु भईसकेकोतथा आमा गोपीमाया दुईवर्षदेखि वैदेशिक रोजगारीका लागि दुवई गएकाले उनको रेखदेख गंगाले गर्दै आएको बताएका छन्।
 
घट्नाबारे प्रहरी पुष्टि हुन बाँकी छ । जिल्ला प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले केही व्यक्तिले बालकलाई यातना दिएको खवर गरेको भए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको जानकारी दिए। 'यसबारे तथ्य बुझ्न साउने प्रहरी चौकी र मुर्कुची अस्थायी प्रहरी चौकीबाट स्थलगत बुझ्ना टोली पठाइएको छ' उनले भने 'टोली नफर्की यथार्थ के हो भन्न सकिन्न।'